जुम्लामा सरकारी मोटरसाइकल दुर्घटनापछि तनाव, खलंगाको जनजीवन प्रभावित

महेश चैालागाई ७ मंसिर २०८३, आईतवार १०:४९

 

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लाको सदरमुकाम खलंगामा तनाव सिर्जना भएको छ। मृतकका आफन्तले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि आइतबार बिहानैदेखि बजार तथा यातायात सेवा प्रभावित बनेको छ।

गत शुक्रबार साँझ सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएको थियो। घटनापछि आक्रोशित आफन्तले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेका हुन्।

आन्दोलनकारीले खलंगाका विभिन्न सडकमा टायर बाल्दै नाराबाजी गरेका छन्। बजारका पसल तथा व्यवसाय बन्द गराइएको छ भने लामो र छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। यातायात बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

मृतकका आफन्त राजबहादुर महतले दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार घटनामा प्रयोग भएको सरकारी मोटरसाइकलको जिम्मेवारी सम्बन्धित गाउँपालिकाले पनि लिनुपर्ने माग गरिएको छ।

सरकारी मोटरसाइकल तिला गाउँपालिकाका प्राविधिक जीतबहादुर सिंहले बुझिलिएको खुलेको छ। तर उनी हालसम्म सम्पर्कमा नआएको आफन्तको भनाइ छ। मोटरसाइकल चलाउने व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

घटनाबारे वार्ता र सहमति हुन नसक्दा मृतकको शवसमेत अस्पतालमै रहेको छ। मोटरसाइकलको जिम्मेवारी लिएका व्यक्तिलाई पनि नियन्त्रणमा लिएर घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आफन्तको माग छ।

यसैबीच, विवाद समाधान गरी बजार सञ्चालनमा ल्याउने प्रयासस्वरूप जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११ बजे वार्ताका लागि तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएको छ। जाहेरीवालालाई समेत उपस्थित गराउन भनिएको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिएका छन्।

घटनाको समाधानका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसँग पनि पहल गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ।

उता, बजार बन्द हुँदा दैनिक जनजीवन प्रभावित बनेपछि स्थानीय व्यवसायीले सम्बन्धित पक्षलाई तत्काल वार्तामार्फत समस्या समाधान गरी बजार खुलाउने वातावरण बनाउन आग्रह गरेका छन्।

मृतकका आफन्तले न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्।

सम्बन्धित समाचार