कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद पुनरगठन गर्न सकेनन । मुख्यमन्त्री शाही नेकपा वरिष्ठ नेता माधकुमार नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेर गर्ने गरी बिहान सबेरैदेखि छलफलमा जुटेका थिए।
मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन लगाएका थिए।
प्रधानमन्त्री ओलीले ती मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि मन्त्री मुख्यमन्त्री शाही मन्त्रिपरिषद पुनरगठन गर्नबाट पछी हटेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री शाहीका प्रेस संयोजक धुव्र बुढाथोकीले सबैभन्दा उत्तम विकल्प अपनाउनु पर्ने देखिएपछि थप छलफल गरेर एक दुई दिनमा मन्त्रिपरिषद्मा हेरफेर गर्ने निर्णय लिने तयारी मुख्यमन्त्रीले गरेको बताए।
उनले भने,‘मन्त्रिपरिषद्मा हेरफेरको आवश्यकता त छ नै। तर सबैभन्दा उपयुक्त के हुन्छ भन्नेमा थप छलफल गर्न आवश्यक परेपछि आज मन्त्रिपरिषद्मा हेरेफेर गर्ने तयारीलाई एकदुई दिन पछि सारिएको मात्रै हो,‘बुढाथोकीले भने।
नेपाल समूहबाट मन्त्रि बन्ने चर्चामा रहेका मुगुका सांसद चन्द्रबहादुर शाहीले मुख्यमन्त्री शाहीबाहेक सबै पुराना मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्रीलाई नियुक्त गर्नुपर्ने भएकाले अब त्यसैगरी अब मन्त्रिपरिषद्मा हेरफेर गर्नुको बिकल्प नभएको बताए।
उनले भने,‘आज मन्त्रिपरिषद्मा हेरफेर हुँदैन। एक दुई जनालाई हटाउने र एक दुई जनालाई थप्ने भन्दा पनि समग्रतामा हेरफेर गर्न आवश्यक छ। त्यसमा सबैको सहमति हुन्छ भन्नेमा हामीलाई विश्वास छ। त्यसका लागि एक दुई दिन लाग्न सक्छ।’