जुम्ली संस्कृतिमा आधारित हास्य टेलि शृङ्खला ‘चार दुना नाै’काे छायांकन जुम्लामा हुने भएको छ।
टेलि शृङ्खलाले जुम्लाको संस्कृति, परम्परा, छुई प्रथा, जारी प्रथा, जातीय विभेद तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्द्धन गर्नेछ।
कात्तिक २२ देखि अाैपचारिक रुपमा काम थालिने ‘चार दुना नौ’को दोस्रो चरणकाे छायांकन जुम्लामा हुन लागेको निर्देशक छेडुप लामाले बताए।
‘जुम्लामा तीन भाग छायांकन गर्छाैं,’ उनले भने, ‘यहाँका आठ वटै स्थानीय तहका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि खस संस्कृतिमा आधारित सबै विषय समावेश गरिनेछ।’
शृङ्खलाकाे चौथो भागको रारातालमा पुगेर छायांकन गर्ने तयारी छ। जुम्लाको छुमचौर, गुठिचौर पाटन, चन्दननाथ भैरवनाथ मन्दिर, तातोपानी धारा, हिमाको काठेपुल, पाण्डव गुफालगायत ऐतिहासिक पर्यटकीय स्थलहरु शृङ्खलाका दृश्यहरु रहनेछन्।
यसकाे लेखन रेशम बुढाथोकीले गरेका हुन भने निर्माता गणेश तामाङ र कर्म डी लामा गरेका हुन्। टेलिश्रृंखला निर्माणका लागि यसअघि नै निर्माण टिमले स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि लेखन थालिएको यसका मुख्य पात्रमा वरिष्ठ हास्य कलाकार राजाराम पाैडेल र जुम्लाका गोविन्द सुनार छन्।
काठमाडौंकाे थिएटरमा अभिनय गरेका सुनार पछिल्लो समय जुम्लामा नाटक लेखन तथा नयाँ कलाकार उत्पादनमा सक्रिय छन्। राष्ट्रिय कलाकारसँग टेलिशृंखलामा अभिनय गर्ने अवसर पाउँदा खुसी लागेकाे उनले बताए।
‘यहाँको संस्कृति प्रवर्द्धन, ऐतिहासिक पर्यटकीय स्थलको संरक्षण गर्न टेलिशृंखलाले सघाउनेछ,’ उनले भने, ‘अन्य क्षेत्रकाे संस्कृति र परम्पराकाे व्यापक प्रचार भइसक्दा पनि यहाँकाे बारेमा कसैलाई थाहा छैन। अब ‘चार दुना नौ’ले कर्णाली अगाडि ल्याउनेछ।’
वरिष्ठ कलाकार राजाराम पौडेलले काठमाडौंबाट कल्पिएको र वास्तविक जुम्लामा अाकाश जमिन फरक रहेको बताए।
‘अर्गानिक जिल्लामा गोविन्द सुनारजस्ता स्थानीय रंगकर्मीसँग अर्गानिक अभिनय गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘हामी काठमाडौंबाट नदेखेरै नानाथरी साेच्छाैं, घृणाभावले हेर्छाैं। तर जुम्ला प्रकृतिले बरदान दिएकाे ठाउँ रहेछ। यसकाे जति प्रसंसा गरे पनि कम हुन्छ। यस्ताे ठाउँमा काम गर्न पाउनु खुसीको कुरा हाे।’
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाको संस्कृति प्रवर्द्धन गर्न र ऐतिहासिक पर्यटकीयस्थलहरूको संरक्षणका लागि टेलिश्रृंखला प्रेरक हुने विश्वास व्यक्त गरे।
त्यस्तै गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले खस संस्कृति प्रवर्द्धनका लागि निर्माण हुने टेलिश्रृंखलामार्फत् कर्णालीका सांस्कृतिक सम्पदाको उजागर महत्त्वपूर्ण कदम हुने बताए।
टेलि शृङ्खलामा स्थानीय कलाकारहरू धनराज सुनार, असिम सिजुवाल, भुपेन सिजुवाल, सूर्यमणि हमाल, कर्ण भण्डारी, सरिता चौलागाई, निरु परियार, अर्जुन परियार, रतन नेपाली लगायत स्थानीय कलाकारहरुकाे अभिनय रहनेछ।
त्यसैगरी, काठमाडौंबाट कलाकार रेशम बुढाथोकी र सेबिता अधिकारी जुम्ला आइपुगेका छन्।