अस्पतालको बिल तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका– १ का शिवकुमार मण्डलले मृत्यु रोजेका हुन् । अस्पताल प्रशासनले भने घटनामा आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ ।
छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो । करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलले आत्महत्याको बाटो रोजेको मृतकका आफन्त कृष्ण मण्डलको दाबी छ । मृतकको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताए ।
बिहान ६ बजे उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । उपचारको क्रममा चार घन्टापछि उनलाई मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
‘परिवारले बिल तिर्न बाँकी थियो, अस्पतालको लापरबाहीका कारण आत्महत्या गरेको बताएको छ, अस्पताल प्रशासनले आफ्नो कुनै गल्ती नभएको दाबी गरेको छ । हामी घटनाको अनुसन्धान गर्दै छौँ,’ मोरङका एसपी जनार्दन बिसीले भने । ७ मंसिरमै डिस्चार्ज भए पनि तीन दिनसम्म अस्पतालमै रहनुले बिरामीको परिवारले पैसा तिर्न नसकेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उपचार खर्च तिर्न नसक्दा तथा अन्य कारणले नेपालका अस्पतालमा पटक–पटक बिरामीले आत्महत्या गरेका छन् ।