जुम्ला भेरीखाेलाकाे सुर्की गाउँका आगलागी पिडित राम बहादुर रावत (रामे) काे परिवारलाई तातोपानी गाउँपालिकाले राहत प्रदान गरेकाे छ। साउन २० गते राति ११ बजे घरमा आगलागी हुँदा लत्ताकपडा, साेलार, विजुली र अन्नपात जलेर खरानी भएपछि रामेकाे परिवार विस्तापित भएकाे थियाे।
आज तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावल र तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्का सुर्कीमै पुगेर आगलागी पिडितलाई राहत प्रदान गरेका हुन। रामेकाे परिवारलाई राहत स्वरुप १ प्याक चामल,त्रिपाल, नुन, तेल, २/२ थान सिरक डसना, प्रेस कुकर,त्रिपाल बाल्टिन, थाल प्रदान गरिएकाे तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले हिमशिखर अन्लाईन लाई जानकारी दिएकि छन्।
चालू आर्थिक वर्षकाे पहिलाे विपदकाे घटना सुर्कीमा घटेकाे तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले बताए । तातोपानी गाउँपालिकाले विपदमा परेका नागरिककाे घाउमा मल्हम लगाउन प्रयासरत रहेकाे उनले बताए। विगतमा पनि विपदमा परेका घरपरिवारलाई राहत प्रदान गर्दै आएकाे उनले बताए । तत्कालीन समस्या समाधानका खातिर गाउँपालिका सतर्क रहेकाे समेत उनले बताए ।
साउन २० गते राति ११ बजे तातोपानी ७ सुर्कीकै मानसिक अस्वस्थता भएका इवराज रावतले रामेकाे घरमा आगाे लगाएका हुन्। मानसिक समस्या रहेका इवराजले ढाेका फाेडेर आगाे लगाएकाे तातोपानी ७ का वडा सदस्य जगत रावतले बताए। अन्नपात, कपडा, साेलार जलेर खरानी भएकाे छ, खान लाउन समस्या भएकाे आगलागी पिडित राम बहादुर रावत(रामे)ले बताए।
घरमा आगलागी बाट आंशिक क्षति पुगेकाे छ, ज्याला मजदुरी गरि खाने परिवारमा अन्नपात र कपडा जलेपछि निकै समस्या परेकाे पिडित रामेकाे भनाइ छ । संकटकाे बेला सारथि बनेकाेमा तातोपानी गाउँपालिकालाई उनले आभार व्यक्त गरेका छन्।