आगो निभाउँदा जलेर गम्भीर घाइते भएका एक सैनिकको मृत्यु

हिमशिखर संवाददाता २७ चैत्र २०८०, मंगलवार ०८:१२

डोल्पामा मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका सैनिकमध्ये एकजनाको मृत्यु भएको छ।
उपचारका लागि काठमाडौं रिफरको तयारीमा रहेका सैनिकको डोल्पा अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको हो। थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको अवस्थामै सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको ठूलीभेरी नगरपालिका– ३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका चारजना सेना घाइते भएका थिए।

आगोमा परी घाइते भएकामध्ये दुईजनालाई सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि अन्य दुईजनाको भने जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।

डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले घाइतेहरू करिब ७० प्रतिशत जलेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जानकारी दिएका थिए। जलनका कारण गम्भीर घाइते भएकाले डोल्पामा उपचार सम्भव नहुँदा दुईजनालाई तत्काल नेपालगन्ज रेफर गरेको र थप दुईजनालाई काठमाडौं लैजान हेलिकोप्टर कुरिरहेको डा. उपाध्यायले बताएका थिए।

जंगलमा आगलागी भने आइतबार दिउँसोदेखि लागेको थियो। सोमबार अत्यधिक हावाहुरीका कारण डढेलो नियन्त्रणभन्दा बाहिर गएको थियो।

Next Post

आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२७ चैत्र २०८०, मंगलवार ०८:१२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।बारखरी […]