मुगुमा गाउँ र यार्सा लुट्ने समूह पक्राउ गरि सार्वजनिक

के .बि अछुत २५ असार २०८१, मंगलवार ०९:०५

मुगु । मुगुमा गाउँ र यार्सा लुट्दै हिँड्ने लुटेरा समूहलाई नेपाल प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरि सार्वजनिक गरेको छ  ।

आइतबार साझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६  जना पक्राउ गरेको थियो । पक्राउ परेका ६ जना मध्य ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिनुभएको जानकारी अनुसार  घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका छन् उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले खोजी तीव्र पारेको छ ।

गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटन तिर गएको मौका छोपी लुटेरा उक्त  आठ जनाको  हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थिए ।

लुटेरा समूहले गाउँका २४ वटा घर र १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंहको कमाण्डमा प्रहरी खटिई विभिन्न ७ वटा स्थानमा अनुसन्धान सुरु गरेको थियो । यो अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले  जुम्ला, हुम्ला, कालिकोट र डोल्पाका प्रहरीसँग समन्वय सहकार्य गरि नाकाहरूमा प्रहरी परिचालन गरेको  थियो ।

घटना भएको झण्डै एक महिनापछि गाउँ र  यार्सा लुटपाटमा संलग्न आठ जनाको टिम मध्य प्रहरीले ३ जनालाई  पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।

प्रहरीका अनुसार यार्सा तथा गाउँ लुट्न संलग्न रहेका आठ जनाको टिम  जुम्ला जिल्ला कै भएको पुष्टि भएको छ । उनीहरूबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला  र १ वटा सल रहेका छन् ।

यस्तै पक्राउ परेकाहरूबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुन कै माडुली २ थान (विक्री गरेर पश्चात् जुम्ला प्रहरी मार्फत बरामद) पनि बरामद गरेको छ ।

पक्राउ परेका जुम्ला जिल्ला  गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र  वडा न ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता  रहेको पाइएको  प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरूमा पुगी यो समूहले यार्सा सङ्कलक तथा व्यापारीहरूबाट समेत यार्सागुम्बा लुट्दै आएको  थियो । लुटेराहरूसँग अत्याधुनिक हतियार कसरी पुग्यो, यो समूहमा अन्य को को संलग्न  छन् अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

गतवर्ष पनि वडा न १ वाङ्री गाउँमा पनि लुटेरा समूह र स्थानीय बीच झगडा भएको थियो त्यो बेला लुटेराहरुले स्थानीयहरूबाट यार्सा लुटेर भागेका थिए भने प्रतिकार गर्ने करिब १ दर्जन स्थानीय घाइते भएका थिए ।

मुगुका २ दर्जन पाटनहरूमा पाइने यार्सागुम्बा लुट्न बर्षेनि यो समूह कहिले कुनै पाटन त कहिले कुनै पाटन पुग्ने गरेको र मुगु,डोल्पाका पाटनहरूमा सधैँ यार्सा लुट्न पुग्ने यही समूह भएको हुन सक्ने अनुसन्धानले देखाएको समेत प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।

प्रहरीले आइतबारै मुगु जिल्ला अदालतबाट २०  दिन लुटेरा समूहलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति लिइसकेको छ  ।

 

Next Post

भारी वर्षा पछि अबरुद्द कर्णाली राजमार्ग संचालनमा आयाे

२५ असार २०८१, मंगलवार ०९:०५
जुम्ला । कर्णाली राजमार्ग संचालनमा आएकाे छ । अविरल वर्षाका कारण आएकाे बाढी पहिराेले पाँच दिन देखि अबरुद्द राजमार्ग संचालनमा आएकाे हाे । सडक डिभिजन जुम्ला,हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंज र सडक डिभिजन सुर्खेतबाट खटाईएका जनशक्ति र हेवी बेक्रर,स्काभेटर,लगायतका साधन प्रयाेग गरि पहिराे पन्छाएर सडक संचालनमा ल्याईएकाे सडक डिभिजन जुम्लाका प्रमुख […]

सम्बन्धित समाचार