अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा  बाेहाेरागाउँमा अभिमुखीकरण

महेश चाैलागाँई ४ मंसिर २०८१, बुधबार २३:१३

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकार, बाल विवाहका समस्या र कानूनी व्यवस्थाबारे जनचेतना फैलाउन चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित श्री रत्न चुडेश्वर माध्यमिक विद्यालयमा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा बाल विवाहका समस्या, कानूनी प्रावधान र यससँग जोडिएका सामाजिक चुनौतीहरूबारे विशेष छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रस्तुतकर्ता प्रहरी निरीक्षक नविन शर्माले बाल विवाहले बालबालिकाको शारीरिक, मानसिक, र सामाजिक जीवनमा पर्ने असरबारे प्रकाश पारे।

उनले बाल विवाह नियन्त्रणका लागि कानूनी व्यवस्थाहरूको बारेमा जानकारी गराउँदै यो समस्या अन्त्य गर्न स्थानीय तह, समुदाय र सरकारी निकायबीच समन्वयको आवश्यकता रहेको बताए।

“बाल विवाहलाई नियन्त्रण गर्न मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनी कारबाही हुने प्रावधान छ,” उनले भने, “बालविवाह सामाजिक रूपमा समेत चुनौती बनेको छ।”

कार्यक्रममा सहजकर्ताका रूपमा कृडाक नेपाल, वर्ल्ड भिजन र सोसेक नेपालको टोलीले सहभागीता जनाएका थिए। संस्थाहरूले बाल अधिकार संरक्षण र बाल विवाहविरुद्धको अभियानमा आवश्यक सहयोग र जनचेतनाको महत्वबारे चर्चा गरेको कृर्डाक नेेपालका श्रीराम थापाले बताए।

 

थापाका अनुसार कार्यक्रममा बालबालिकाहरूलाई उनीहरूको अधिकार, जिम्मेवारी र बालविवाहको असरबारे जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूले बालविवाहविरुद्ध आफ्ना अनुभव र विचार व्यक्त गर्दै यस प्रकारका अभिमुखीकरणले उनीहरूलाई सचेत र सशक्त बनाएको प्रतिक्रिया दिए।

चन्दननाथ नगरपालिकाका महिला तथा बालबालिका शाखाले बालविवाह अन्त्यका लागि समुदायस्तरबाटै पहल गर्नुपर्ने जोड दिएको छ। अभिभावकहरूलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गर्दै बालविवाह नियन्त्रणका लागि सरकारले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ।

कार्यक्रमले बाल अधिकार संरक्षण र बालविवाह न्यूनीकरणका लागि सबै क्षेत्रबाट सहकार्यकाे आवश्यकता रहेको सन्देश दिएको विद्यालयका सहायक प्रधानाध्यापक कुलराज देवकोटाले बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमले बाल अधिकार र बालविवाहका विषयमा स्थानीय समुदायमा सकारात्मक सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ।

Next Post

ग्रेटर नेपाल’का अभियान्ता फणिन्द्र नेपाल पक्राउ

४ मंसिर २०८१, बुधबार २३:१३
‘ग्रेटर नेपाल’का अभियान्ता भनेर चिनिने फणिन्द्र नेपाल पक्राउ परेकाछन । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेकाे समयमा शान्ति सुरक्षामा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। भारतीय विशिष्ट व्याक्तीहरूकाे हरेक औपचारिक भ्रमणमा उनले विरोध जनाउने गरेका छन्। यस पटक पनि विरोध गर्ने सम्भावना […]