कनकासुन्दरीको पुँजीगत खर्च ८६.७४ प्रतिशत

महेश चाैलागाँई ३० श्रावण २०८२, शुक्रबार ०८:१५

आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले ४७ करोड ६ लाख २१ हजार ८१२ रुपैयाँ विनियोजन गरेकोमा ४१ करोड ९४ लाख ९१ हजार ४६६ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८९.१३ प्रतिशत हो।

जुम्लाका आठवटै पालिकामध्ये कनकासुन्दरी गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गर्ने पहिलो स्थानीय तह बनेको छ। बिहीबार कनकासुन्दरी गाउँपालिकामा आयोजित एक विशेष समारोहमा कनका खबरको सहजीकरणमा सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रमले बजेटको उपयोग, विकास निर्माणका गतिविधि, सेवा प्रवाहको अवस्था तथा जनगुनासाहरूको प्रत्यक्ष उत्तर दिने वातावरण बनाएको थियो।

कार्यक्रममा कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले पालिकाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले ४७ करोड ६ लाख २१ हजार ८१२ रुपैयाँ विनियोजन गरेकोमा ४१ करोड ९४ लाख ९१ हजार ४६६ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८९.१३ प्रतिशत हो।

उनका अनुसार चालु बजेटतर्फ ३६ करोड ४१ लाख ९७ हजार ८१२ रुपैयाँ विनियोजन भएकोमा ३२ करोड ७१ लाख ६२ हजार ६१२ रुपैयाँ अर्थात् ८९.८३ प्रतिशत खर्च भएको छ।

उनले भने, “पुँजीगत खर्चतर्फ १० करोड ६४ लाख २४ हजार छुट्याइएकोमा ९ करोड २३ लाख २८ हजार ८५४ रुपैयाँ अर्थात् ८६.७४ प्रतिशत खर्च भएको छ।”

यी तथ्याङ्कहरूले पालिकाले स्रोतको उपयोग दर उच्च रहेको पालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए।

“जनताका अपेक्षाहरू धेरै रहे पनि स्रोत–साधनको सीमितताका बाबजुद भएको प्रगति सन्तोषजनक छ।”

उनका अनुसार पालिकामा जनताका अपेक्षा धेरै भएको हुनाले गुनासाहरू आउनु स्वाभाविक हो। तर सिमित स्रोतमा पनि देखिने गरि विकास निर्माण गर्न सकिएको छ।

उनका थपे, “पालिकाले हालसम्म देखिने विकास निर्माणका गतिविधि सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि यो निरन्तरता कायम राख्नेछ।”

कार्यक्रममा उपाध्यक्ष प्रेमकली बुढाले योजनाको उपभोक्ता समिति निर्माणमा देखिने अव्यवस्थाको विषयमा स्पष्ट टिप्पणी गरिन्।

“योजना सुरु गर्दा उपभोक्ता समितिमा बस्न हानथाप हुने, तर सकिँदा घाटा भयो भन्दै गुनासो गर्ने अनि अर्को साल फेरि उही व्यक्ति उपभोक्ता समितिमा बस्न खोज्ने खराब परिपाटी हाबी छ,” उनले भनिन्।

उनका अनुसार यस्ता खाले प्रवृत्तिले विकासको गुणस्तर र पारदर्शितामा प्रश्न उठ्ने गरेको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि र प्रशासनका शीर्ष पदाधिकारीहरूबाट जवाफ लिइएको थियोे। कार्यक्रममा सेवा प्रवाहको नियमितता, कर्मचारीको व्यवहार तथा विकास निर्माणका अवरोधबारे सहभागीले प्रश्न राखे।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कर्मचारी सेवामा सुधार ल्याउन निगरानी बढाइने बताए। “जनताले प्रक्रियागत रूपमा राखेका हरेक गुनासाको उचित सम्बोधन गर्न पालिका तयार छ,” उनले आश्वासन दिए।

कार्यक्रममा बजेटको खर्च मात्र नभई कार्य सम्पादनमा पारदर्शिताको महत्त्व बारे पनि छलफल भएको अध्यक्ष आचार्यले बताए।

उनले भने, “नागरिकका गुनासाहरू प्रत्यक्ष सुन्ने र तत्काल जवाफ दिने अभ्यासले स्थानीय तहको जवाफदेहितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं।”

सार्वजनिक सुनुवाइले कनकासुन्दरी गाउँपालिकाको काम गर्ने शैली, प्राथमिकता र जनताप्रतिको उत्तरदायित्वको चित्रण गर्न सकेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।

Next Post

जुम्ला जात्रामा तनाव  भीड नियन्त्रणमा चुनौती  पत्रकारमाथि आक्रमण

३० श्रावण २०८२, शुक्रबार ०८:१५
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जुम्लाको जात्रामा यसपटक सुरक्षा व्यवस्थापन कमजोर देखिएपछि परिस्थिति असामान्य बनेको छ। भीड नियन्त्रणमा नेपाल सशस्त्र प्रहरी बल मात्र खटिए पनि नेपाल प्रहरीको प्रभावकारी उपस्थिति नदेखिएकाले सुरक्षामा त्रुटि भएको देखिन्छ । जात्रामा सहभागी भक्तजनको भीड बढ्दै जाँदा व्यवस्थापनमा समस्या आएपछि धक्का, मुक्की, कोलाहल र अव्यवस्था फैलिएको […]