चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

महेश चाैलागाँई ६ आश्विन २०८२, सोमबार १९:२८

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको छ ।
हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए ।

मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । ‘चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिङ्गोमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ’, थापाले भने । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको अध्यक्ष थापाले बताए । मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिङ्गो खडा गरिएको उनको भनाइ छ ।
घटस्थापनाको दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने परम्परा रहेको यहाँको संस्कृतिका जानकार रमानन्द आर्चायले जानकारी दिए । एक दशक पहिलेसम्म लिङ्गो फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न वस्तु पठाउने चलन थियो ।

‘जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घीउ, मह आउथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो’, उनले भने ।
अहिले उक्त परम्परा रोकिएको आर्चायले बताए । अहिले सुरक्षाकर्मीले सबै व्यवस्था गर्ने उनको भनाइ छ ।

Next Post

दैलेखमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, शोकाकुल परिवारले सडक अवरुद्ध

६ आश्विन २०८२, सोमबार १९:२८
बुधबार दैलेखको पालताडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय भने तत्काल सार्वजनिक गरिएको छैन। दुर्घटनापछि मृतकको परिवारले आज दिउसाे करिब आधा घण्टा सडक अवरुद्ध गर्दै दोषी चालकलाई कारबाही गर्न मागर उचित ,राहात माग सहित प्रर्दशन गरेका थिए। स्थानीय प्रशासन र सुरक्षाकर्मीको हस्तक्षेपपछि अवरोध खुलेको छ। सडक […]