बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
कोहलपुरबाट काठमाडौंतर्फ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बस अगैया बजारमा एक आपसमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोलका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षेत्रीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस तथा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क हुन नसकेकाले शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।



