जुम्लाको हिमा गाउँपालिकामा बस चालक र स्थानीय विच बिवाद हुदा एक यात्रुकाे मृत्युु भएको छ । नेपालगञ्ज जाँदै गरेको यात्रुबाहक बस जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा रोकिएपछि भएको विवादले एक यात्रुको मृत्युु भएको हाे ।
शनिबार साँझ करिब साढे ७ बजेतिर भे.१ ख ३५३३ नम्बरको बसलाई अत्यधिक मदिरा सेवन गरेका दुई युवाले जबरजस्ती रोकेर चालकलाई कुटपिट गरेका थिए।
सो क्रममा बसबाट खसेर मुगु छायानाथ रारा नगरपालिका–५ निवासी ५८ वर्षीय हरिचन्द्र कार्की गम्भीर घाइते भएका थिए। उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–५ का २१ वर्षीय पारस शाही र २२ वर्षीय आकाश शाहीले मदिराको मातमा बस रोकेर चालक वीरबहादुर सुनारमाथि दुर्व्यवहार र हातपात गरेका थिए। त्यस क्रममा चालक बसबाट ओर्लदै गर्दा गाडी पछाडि सरेको थियो। ढोकानजिक उभिएका कार्की त्यसै क्रममा लडेका थिए।
घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, झगडालाई छुट्याउने क्रममा म्याग्दी सोरु गाउँपालिका–२ की ३० वर्षीया मुगा नाथ र बस चालक वीरबहादुर सुनार सामान्य रूपमा घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।



