जुम्ला: तातोपानी गाउँपालिका -७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी अज्ञात रोगले थला परेका छन्। विद्यालयमा वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक विरामी पर्न थालेका हुन। विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावतले बताए।
गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन लगायत सबै प्रक्रिया बन्द गरिएकाे बताए। ‘विरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ। विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रासिद अवस्थामा छ,’ उनले भने। समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले जानकारी दिए।
गाउँले अहिले निकै डराएका छन्। अज्ञात रोगले तीव्र रुपमा थला पार्न थालेको छ,’ उनले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ।’ लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउछन ।