जुम्ला चन्दननाथ नगरपालिकाले २०८२/०८३ को बजेट कार्यान्वयनका लागि कार्यसम्पादन करार सम्झौता

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार २३:०१

चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेटको कार्यान्वयन तथा सेवा प्रवाह प्रभावकारी बनाउन साउन ७ गते प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी हस्तान्तरण गरेको छ।

यससँगै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन करार सम्झौता पनि भएको छ ।नगर प्रमुखद्वारा प्रदान गरिएको खर्च अख्तियारीसँगै उक्त सम्झौताले नगरपालिकाको समग्र कार्यसञ्चालनलाई थप पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउने उद्देश्य लिएको छ । करार सम्झौतामा उल्लेख गरिएका ३६ वटा बुँदामार्फत प्रशासनिक, आर्थिक, सामाजिक तथा सेवा प्रवाहका विविध पक्षमा जिम्मेवारी सुनिश्चित गरिएको छ ।

त्यस्तै, आन्तरिक आय वृद्धिका लागि कानुनी तथा नीतिगत सुधार गरिने, स्थानीय तथ्यांक अभिलेखीकरण तथा अद्यावधिक गरिने, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पोषण, मातृशिशु सुरक्षा तथा लक्षित समूहका कार्यक्रम समयमै कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

नगर प्रमुख तथा नगर कार्यपालिका नेतृत्वको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सबै शाखा तथा कार्यलयलाई समन्वय गर्दै काम अघि बढाउनु पर्नेछ । कार्यालय व्यवस्थापन, लेखापरीक्षण, सूचना अद्यावधिक, वेबसाइट सञ्चालन, सार्वजनिक सुनुवाइ, सार्वजनिक जवाफदेहिता, सेवा प्रवाहको निगरानी तथा समिक्षा नियमितरूपमा गर्नुपर्नेछ ।

नागरिकमैत्री शासन प्रणाली निर्माण गर्ने लक्ष्यसहित बालमैत्री, अपाङ्गमैत्री तथा वातावरणमैत्री दृष्टिकोणमा आधारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी कार्ययोजना तय गरिएको छ । त्यस्तै, राजनीतिक हस्तक्षेपबाट टाढा रही सेवा केन्द्रित काम गर्न र संघीय तथा प्रदेश सरकारसँग समन्वयमा निरन्तर अद्यावधिक रहनुपर्ने पनि सम्झौतामा स्पष्ट उल्लेख छ ।

सूचना प्रविधि अधिकृत बिकल बुढथाले दिएको जानकारी अनुसार, यो कार्यसम्पादन करार सम्झौता २०८२ साउन १ गतेदेखि लागू भइसकेको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएमा नयाँ अधिकृतले हाजिर भएको मितिदेखि यो सम्झौता स्वतः लागु हुने व्यवस्था पनि गरिएको छ ।

Next Post

शिखर इन्स्योरेन्सकाे स्याउ बिमा भुक्तानी बिषयमा लागेके ताला खुल्याे

११ श्रावण २०८२, आईतवार २३:०१
स्याउ बिमाको भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच ११ बुँदे सहमति भएपछि कम्पनीको जुम्ला शाखामा लागेको ताला खुलेको छ । प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको वार्तामा दुई पक्षबीच लिखित सहमति भएसँगै किसानका मागहरु पुरा हुने मार्ग खुलेको हो । कृषक महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक […]