भीषण वर्षाले गगने खोलामा सडक पुनः अवरुद्ध, यात्रुलाई सतर्क रहन आग्रह

हिमशिखर संवाददाता १७ भाद्र २०८२, मंगलवार १८:३३

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा भदौ १४ गतेदेखि अवरुद्ध भएको सडक तीन दिनपछि भदौ १७ गते दिउँसो १२ बजेतिर सञ्चालनमा आएको थियो। तर, आझै   साँझ साढे ५ बजेपछि परेको भीषण वर्षाका कारण पुनः सडक अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार अविरल वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। सम्भवतः भदौ १८ गतेसम्म मात्र सडक सुचारु हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरू बीच अलमल बढेको छ भने सवारी साधनहरू बाटोमै रोकिएका छन्। कर्णाली राजमार्ग प्रदेश राजधानी सुर्खेतसँग जुम्ला, मुगु, हुम्ला र कालिकोटको मुख्य यातायातिक जोड्ने मार्ग भएकाले सडक बन्द हुँदा आवश्यक सामग्री ढुवानीमा समेत असर परेको छ।

प्रशासनले यात्रुहरूलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। “बर्सातको मौसम भएकाले पहिरो र बाढीको जोखिम उच्च हुन्छ। त्यसैले रात्री समयमा अनावश्यक यात्रा नगर्न र अपरिहार्य अवस्थामा मात्र यात्रामा निस्कनु अनुरोध गर्दछौं,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

स्थानीयवासीले निरन्तरको वर्षा र पहिरोको कारण गगने खोलाको क्षेत्रमा बारम्बार सडक अबरुद्ध हुने समस्या देखिएको बताउँदै दीर्घकालीन समाधानका लागि स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।

Next Post

कर्णाली राजमार्गको सुर्खेत ,कालिकोटको गगने खोलामा अवरुद्ध सडक सुचारु

१७ भाद्र २०८२, मंगलवार १८:३३
कर्णाली राजमार्गको सुर्खेत, जुम्ला खण्डअन्तर्गत कालिकोटको गगने खोलामा अवरुद्ध भएको सडक पुनः सुचारु भएको छ। भदौ १७ गते साँझदेखि अबरुद्ध रहेको उक्त सडक आज भदौ १८ गते बिहान करिब १०:३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले कालिकोटले  जानकारी दिएकाे  छ। लगातारको वर्षाका कारण राजमार्गमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो। […]