प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको हो ।
कुल ८७ सदस्य रहेको प्रदेश सभामा खसेको ८२ मतमा पक्षमा ६९ मत परेका छन् । विपक्षमा १३ मत खसेका छन् । नेकपाका ६१ सांसद भए पनि राजधानीको पक्षमा ६९ मत खसेका छन् । विपक्षी कांग्रेसका १९ मत भए पनि विपक्षमा १३ मत मात्रै खसेका छन् । यसले पश्चिमतर्फका कांग्रेस सांसदले पनि दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेको अनुमान छ । समाजवादी पार्टीका ६ र राजमोका एकजना सांसद छन् ।
प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेको दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने सरकारको प्रस्ताव दुईतिहाइ मतले पारित भएको हो । हाल प्रदेशको अस्थायी राजधानी बुटवल छ ।
प्रदेश सभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको प्रस्तावमा दुईवटा संशोधन प्रस्ताव दर्ता भएका थिए । रुपन्देहीबाट समानुपातिक सदस्य कांग्रेस सांसद पुष्पा थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
राजधानी दाङ र बुटवल बनाउने विषयमा नेकपा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । मुख्यमन्त्रीले दाङ र महासचिव बुटवल स्थायी राजधानीको पक्षमा थिए
तर, अन्तिम समयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दाङमा राजधानी बनाउने सहमतिमा पुगेपछि प्रदेश सरकारले नाम र राजधानीको विषय टुंग्याउने प्रक्रिया सुरु गरेको थियो । यसैअनुसार शुक्रबार प्रदेश सभामा सरकारका तर्फबाट प्रस्ताव पेस भएको थियो ।