चितवनमा हुने दशौँ महाधिवेशन (१०–१२ मंसिर)बाट निर्विकल्प अध्यक्षमा दोहोरिने एमाले अध्यक्ष केपी ओलीको तयारीलाई उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर चुनौती दिएका छन् । एमाले देशभर महाधिवेशन प्रतिनिधि छनोटको अन्तिम तयारीमा जुटिरहेका वेला उपाध्यक्ष रावलले गृहजिल्ला अछाम पुगेर मंगलबार अध्यक्षको दाबेदारी घोषणा गरेका छन् । शक्ति बाँडफाँडमा नाटकीय सहमति नभए ओली निर्विरोध अध्यक्ष हुनेछैनन् ।
अछामको साँफेबगर नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामार्फत रावलले ओलीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । यद्यपि ओलीले पनि अध्यक्ष लड्ने घोषणा अझै गरेका छैनन् । महाधिवेशनका लागि अध्यक्षको दाबेदारी घोषणा गर्ने रावल पहिलो नेता हुन् । एमालेको संस्थापन पक्ष एकताका सन्देश दिन सर्वसम्मत नेतृत्वको कोसिसमा छ । उपमहासचिव घनश्याम भुसालले पनि निर्विरोध अध्यक्ष सम्भावना नरहेको बताएका छन् ।
एमालेले २७ कात्तिकमा देशभर एक हजार नौ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्दै छ । त्यसका लागि देशभरका जिल्ला कमिटीले तयारी थालेका छन् भने केन्द्रीय कार्यालयमा उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभागले सदस्यता नवीकरणको कामलाई अन्तिम रूप दिँदै छ । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधि छनोटको मापदण्डसमेत उल्लेख गरेर चौधौँ अन्तरपार्टी निर्देशन पठाइसकेको छ