सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रमा डोजर चलाएको छ। सडक विस्तारका लागि उपमहानगरले सडकको नक्साभित्र परेका घरहरु भत्काएको हो।
विराटनगरको रानी–किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काउन पटकपटक ताकेता गरेपनि अवज्ञा गरेपछि आफै भत्काउन बाध्य भएको इटहरीका मेयर मेयर हेमकर्ण पौडेलले बताए।
मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने इटहरी उपमहानगरपालिका ६ का ३४ घर भत्काउन यसअघि नै उपमहानगरले सूचना जारी गरेको थियो। तर, घरधनीहरुले अटेर गरेपछि पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी अनाधिकृत संरचना भत्काएको हो।
सडक मिचेर बनाइएका अनाधिकृत संरचनाकै कारण ६ लेन सडक विस्तार गर्न समस्या भएको थियो। पालिकाले पटकपटक जारी गरेको सूचना नटेर्दा इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन्।
विराटनगर लाइन र वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारका घरहरू यसअघि नै खाली भइसकेको छ।